घोराही १४ निवासी हर्कजीत पुनको स्मृतिमा श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घोराही नगर सदस्य तथा घोराही १४ का अध्यक्ष कृतिमान पुनका बुवा तथा जिल्ला सदस्य दिलकुमारी बुढाका ससुराबुवा ८२ बर्षीय पुनको फागुन ३० गते निधन भएको थियो ।
नेकपा घोराही नगर समितिको आयोजनामा श्रद्धाञ्जलीसभा गरिएको हो । नगर समिति अध्यक्ष राममणि पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य निर्मल आचार्यले कम्युनिष्ट आन्दोलन र क्रान्तिमा पुनको ठूलो भूमिका रहेको बताउनुभयो ।
आफ्नो परिवारलाई क्रान्तिमा लाग्न प्रेरित गर्ने अभिभावकको ठूलो भूमिका हुने भन्दै उहाँले पुनको उच्च सम्मान गर्नुपर्ने बताउनुभयो । स्वर्ग र नर्क जीवनकालमै हुने उल्लेख गर्दै उहाँले देश र समाजका लागि काम गर्नेहरुले जीवनकालमै स्वर्गीय जीवन बिताउने बताउनुभयो ।
नेकपा दाङका अध्यक्ष टीकाराम खड्काले पुनले नेपाली राजनीतिमा महत्वपूर्ण योगदान गरेको बताउनुभयो । आफू तत्कालीन एमालेको जिल्ला सचिव भएर रोल्पा बस्दाका अनुभूति सुनाउँदै उहाँले माओवादी जनयुद्धको माध्यमबाट पुन र पुनको परिवारले राजनीतिक परिवर्तनका लागि ठूलो योगदान दिएको बताउनुभयो ।
छोरा कृतिमान पुनले बुवा जिमुवाल पृष्ठभूमिबाट आएको भए पनि सामन्तवादबिरोधी भएकाले आफूहरु वर्गीय आन्दोलनमा लाग्न प्रेरित भएको बताउनुभयो । कार्यक्रम सञ्चालन नगर सचिव प्रमोद शर्माले गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।